Wednesday, July 22, 2015

पत्रकारकी श्रीमतीको यस्तो गुनासो

धरान, ६ साउन । नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष केशव घिमिरेमाथि सुनसरीका एक वकिलसँग मिलेर मुद्दा मिलाइदिने भन्दै आफ्नै सहकर्मीसँग साढे ४ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा २०७१ साल माघ ४ गतेदेखि झुम्का कारागारमा रहेका पत्रकार महासङ्घका पूर्व केन्द्रीय पार्षद् तथा ‘एक्सन टाइम्स’ साप्ताहिकका प्रकाशक हिमाल राईकी श्रीमती कमला राईले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएकी हुन् ।

हिमालकी श्रीमती कमलाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शुरुमा वकिलले ‘अदालतका पियनदेखि हाकिमसम्म मिलाउनुपर्छ’ भन्दै ३ लाख मागेको तर महासङ्घका अध्यक्ष घिमिरेले फोन गरेर ‘साढे ४ लाख चाहिने भयो’ भनेको जनाइन् । तर आफ्नै श्रीमान्ले आफू निर्दोष भएकाले रकम नबुझाउने अडान लिएपछि षड्यन्त्रपूर्वक फँसाइएको उनले जनाइन् ।

२०५७ सालमा लागूऔषधसहित पक्राउ तरहरानजिक पक्राउ परेका कृष्ण लिम्बूले बयानको क्रममा हिमाल राई र आफ्नै सँगै लागूऔषध सेवन गरेको बताएपछि दुवैविरुद्ध मुद्दा चलेको थियो । सो मुद्दाको पैmसला सुनसरी जिल्ला अदालतले २०६१ मा गरेको थियो । तत्कालीन अवस्थामा फरार भनिएका हिमाललाई प्रहरीले गत माघमा पक्राउ गरेको थियो । सजाय सुनाइएका व्यक्ति आफ्ना श्रीमान् नभएको कमलाको जिकिर छ ।

घटना भएको दिन आफ्ना श्रीमान् हङकङबाट फर्किने क्रममा काठमाडौंमा भएको उनले जनाइन् । पासपोर्टबाट यो कुरा देखिने उनको भनाइ छ । ‘त्यस बेला उहाँ सक्रिय पत्रकारका रुपमा हुनुहुन्थ्यो भने लागूऔषध दुव्र्यसनविरुद्ध युथ एक्सन ग्रुपमार्फत् काम गरिरहनुभएको थियो’, कमलाले भनिन्, ‘कृष्णले भने पर्वत भनिने हिमाल राई भनेको रहेछ । मेरो श्रीमान्को नाम हिमाल राई हो, पर्वत उपनाम छैन ।’


उनले भनेको उमेर र हुलिया पनि केही नमिल्ने भएकाले श्रीमान् निर्दोष रहेको जिकीर गर्दै उनले फैसलामा आफ्ना श्रीमान्लाई फरार भनिएको जनाइन् । ‘२०५७ सालमा मुद्दा लागेको रहेछ तर हामी २०४२ सालदेखि यही घरमा बसेका छौं । मेरो श्रीमान् पत्रकारिता गरिरहनुभएको थियो । त्यस्तो मान्छेलाई फरार भन्न मिल्छ ?’ उनले प्रश्न गरिन् ।
उनका अनुसार महासङ्घका अध्यक्ष घिमिरेले ‘हामी पत्रकारहरुको मुद्दा हेर्ने वकिल उहाँ नै हो’ भनेपछि अन्य वकिल खोजिनन् । ‘तपाईंका श्रीमान्लाई फँसाउने षड्यन्त्र भयो भन्ने कसरी लाग्यो ?’ भन्ने जिज्ञासामा उनले भनिन्, ‘पहिलो कुरा त वकिलले ३ लाख र घिमिरेले साढे ४ लाख मागेको कुरा शंकास्पद छ ।’

आफ्ना श्रीमान्विरुद्ध बयान दिने धरान–७ का कृष्ण लिम्बूलाई विराटनगर पुनरावेदन अदालतमा उपस्थित गराउन आग्रह गर्दा केशवले ‘उनलाई पक्राउ गरिएको भए पनि दाइलाई छुटाउन सजिलो हुने भएकोले कोशी कटाउन लगाएको’ बताएपछि षड्यन्त्र भएको बुझेको उनले जवाफ दिइन् । ‘कृष्णलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ भन्ने सुनेकी थिएँ’, उनले भनिन्, ‘तर पछि बुझ्दा पक्राउ नै गरिएको रहेनछ ।’

अहिले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको जनाउँदै उनले सम्मानित अदालतबाट न्याय प्राप्त हुनेमा आफु ढुक्क रहेको उनले जनाइन् । उनले आफ्ना  श्रीमान् निर्दोष हुँदाहुँदै पैसा खुवाएर कुनै काम नगर्ने बताएपछि घिमिरे र वकिलले आफ्ननो सामान्य पेशागत धर्मसमेत बिर्सिएर निर्दोषलाई सजायको भागिदार बनाएको दुखेसो गरिन् ।
सुनसरीका सरकारी वकिल विजय श्रेष्ठले कानुनले व्यवस्था गरेबाहेकको अतिरिक्त रकम लिन नपाइने बताए । ‘कसैले पैसा दिएर केश मिलाउँछु भन्छ भने त्यो ठगी खाने मेलो मात्र हो’, उनले भने, ‘त्यस्तो गर्ने जो कोहीलाई पनि कारवाही हुन्छ ।’ बार एसोसिएसनका सुनसरी अध्यक्ष राजु ढकालले पनि अतिरिक्त रकम लिन र दिन नपाइने बताए । कानुन व्यवसायी परिषद्मा उजुरी परे लाइसेन्ससम्म खारेज हुने व्यवस्था भएको भएको उनले जनाए । श्रीमती कमलाले मुद्दामा बहस गरेबापत वकिललाई ५० हजार रुपैयाँ बुझाएको सुनाइन् ।
पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले यस विषयमा यथार्थ जानकारी लिएर प्रतिक्रिया दिने बताए । महासङ्घका सुनसरी अध्यक्ष घिमिरेले भने वास्तविकता त्यस्तो नभएको बताए । ‘त्यो केही पनि हैन, उहाँहरुले बच्नका लागि आरोप लगाउनुभएको हो ।’ कृष्ण लिम्बूलाई भगाइएको विषयमा राखिएको जिज्ञासामा उनले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट फोन आएको थियो । कृष्ण लिम्बू हाम्रो सम्पर्कमा छ, के गरौं भन्दै थिए । मैले सम्पर्कमा छ भने उपस्थित गराइदिनू भनेको थिएँ ।’ पत्रकार सम्मेलनमा हिमालकी श्रीमती कमलाले आफ्ना  निर्दोष श्रीमान्लाई न्याय दिलाउनका लागि पहल गरिदिन पत्रकार तथा अधिकारकर्मीहरुसँग आग्रह गरेकी छन् ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment