Monday, July 6, 2015

सुत्केरी बिदाको तलब पुरुष शिक्षकले लिएको खुलासा

 असार, झापा ।

महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ ।

झापाको डाँगीबारी– ९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा भएको हो । गत मङ्सिर २२ गते सुत्केरी भएकी शिक्षक तिलरुपा मङ्सिर ११ देखि माघ ११ गतेसम्म दुई महिना सुत्केरी बिदा बसेका थिए।

कक्षा ११ र १२ मा नेपाली विषय पठनपाठन गराउँदै आउनुभएकी शिक्षक तिलरुपाले बिदा अवधिको तलब नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले सो अवधिको तलब पौडेललाई दिलाई दिएपछि यस्तो अवस्था आएको हो ।
शिक्षा नियमावलीको परिच्छेद १९ मा शिक्षकले सुत्केरी बिदा सुत्केरी अघि वा पछि ६० दिन पाउने व्यवस्था छ ।


 सुत्केरी बिदा बढीमा दुई पटकसम्म मात्र पाइने व्यवस्था नियमावलीमा उल्लेख भए पनि आफूले पहिलो सन्तान जन्मनुअघि विद्यालयबाट सुत्केरी बिदा लिएको शिक्षक निरौलाले बताए । उनले भने – “म सुत्केरी बिदा लिएर बसेको समयमा विद्यालयका प्राचार्य कटुवाल सरले व्यवस्थापन समितिको बैठक राखेर मैले पाउने १२ हजार तलब पौडेल सरलाई दिलाई दिने निर्णय गरेको रहेछ ।”

गत फागुन ९ गते बसेको व्यवस्थापन समितिको बैठकले सुत्केरी बिदा अवधिको तलब पौडेललाई दिने निर्णय गरेको बताइएको छ ।

यस विषयमा विद्यालयका प्राचार्य लेखनाथ कटुवालसँग जिज्ञासा राख्दा उनले निजी स्रोतबाट उच्च मावि सञ्चालन गरेकाले शिक्षक तिलरुपा सुत्केरी बिदा बसेको समयमा उनको विषय पढाउने शिक्षक पौडेललाई रु १२ हजार दिलाइ दिएको स्वीकार गरे ।

यस विषयमा आफूलाई कुनै जानकारी नभएको र सुत्केरीलाई नै भनेर राज्यले उपलब्ध गराएको सेवा अरु कसैले लिन नहुने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । सुत्केरीले पाउने सुविधा अरुले लिएको पाइए तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । राससnepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment