Thursday, July 9, 2015

छोरी जन्माएको भन्दै एक महिलालाई श्रीमान् र ससुराले घरनिकाला गरे

मोरङ, असार  छोरी जन्माएको भन्दै एक महिलालाई श्रीमान् र ससुराले घरनिकाला गरेका छन्। जनकपुर १४ बाट मोरङ बेलबारी २ का ललन रायसित बिहे गरेकी २३ वर्षीया ललिता राय छोरी जन्माएकैले ०७१ वैशाखदेखि घरबाट निकालिएकी हुन्। अहिले उनी न्याय खोज्दै प्रहरी प्रशासनदेखि अदालतसम्म पुगेकी छन्।

पुन: घर भित्र्याउन ससुराले २ लाख नगद र एउटा मोटरसाइकल माग गरेपछि २ वर्षे छोरीसहित ललिता अहिले बिलखबन्दमा छिन्। ०६८ फागुनमा उनीहरूको मागी बिहे भएको थियो। ललिताका बुबा लक्ष्मी राउतका अनुसार बिहेका बेला ज्वाइँलाई दाइजोस्वरूप ७ लाख रुपैयाँ र २ तोला सुन दिइएको थियो। बिहेको ६ महिनापछि ललिता गर्भवती हुँदा उनलाई माइती जनकपुर पठाइएको थियो।

माइतीमै उनले छोरी जन्माएको खबरपछि ललन र उनका परिवारले ‘अब तिमीलाई भित्र्याउन सक्दिनँ’ भनेको ललिताले बताइन्। उनका बुबा लक्ष्मीसहित जनकपुरका केही मानिस ललनको घर पुग्दा बुबा शत्रुधनले ललिता आउने हो भने २ लाख नगद र मोटरसाइकल मागेका थिए। बुबाले मेरो आर्थिक हैसियत २ लाख र मोटरसाइकल दिने छैन भनेपछि छोरीलाई तिमी नै राख्नु भन्दै शत्रुधनले हप्काइदप्काइ गर्दै पठाएको लक्ष्मीले बताए। ‘मेरो पनि घर हो, यहीं बस्छु,’ भन्दै पुन: घर पुग्दा ससुराले छोरा ललनलाई अन्यत्रै पठाइदिएको र घर पस्नै नदिएको ललिताले बताइन्।

ललन घर नआएपछि बेलबारीका अगुवा राखी पञ्चायती गर्दा ०७१ वैशाख ५ गते ललन घर नआउन्जेल शत्रुधनले मासिक खर्चबापत ४ हजार ५ सय दिने निर्णय भएको थियो। शत्रुधनले ०७१ वैशाख ७ गते गाविसमा गएर नाता प्रमाणित र सोही महिनाको १० गते जिल्ला प्रशासनमा गएर नागरिकता प्रमाणपत्र बनाइदिने लिखित सहमति गरेका थिए।

‘स्थानीयस्तरमा सहमतिपछि ललनले अँगालो मार्दै श्रीमतीलाई घर लगेका थिए,’ बेलबारीस्थित महिला प्रतिभा संघकी अध्यक्ष शकुन्तला सुवेदीले भनिन्, ‘फेरि ३–४ दिनमै ललितामाथि दाइजो ल्याउन दबाब दिँदै घरनिकाला गरियो।’ लक्ष्मीका अनुसार आर्थिक हैसियत कमजोर भए पनि विवाहमा ७ लाख नगद र २ तोला सुन दिइएको थियो।www.dcnepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment